एजेन्सी, ३ फागुन । विश्व नम्बर एक सर्वियन टेनिस स्टार नोभाक जोकोभिकले कोभिडविरुद्धको खोप नलगाउने बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै जोकोभिकले आफूलाई कोभिड खोप लगाउन बाध्य पारिए आगामी दिनमा हुने टेनिस प्रतियोगिता त्याग्न पनि तयार रहेको बताएका हुन् ।

खोपसम्बन्धी अडानका कारण विम्बल्डन र फ्रेन्च ओपनजस्ता प्रतियोगिता त्याग्न तयार हुनुहुन्छ भन्ने प्रश्नको उत्तर दिँदै उनले भने ‘हो, म त्यो मूल्य चुकाउन तयार छु ।’

त्यस्तै, उनले आफू खोपविरोधी नभएको पनि प्रस्ट पारेका छन् । ‘म खोप लगाउने कुराको कहिल्यै विरोध गर्दिनँ’, उनले भने, ‘तर आफ्नो शरीरमा के लगाउने भनेर छान्ने स्वतन्त्रताको सधैँ समर्थन गर्नेछु ।’

जोकोभिकले केही टेनिस प्रतियोगितामा सहभागिताका लागि अनिवार्य खोप लगाएको हुनुपर्ने नियम परिवर्तन हुने र आफूले अझै केही वर्ष खेल्ने आशासमेत गरेको बताएका छन् ।

२० ग्राण्डस्लाम विजेता जोकोभिकलाई गत महिना कोभिड खोप नलगाएका कारण भिसा रद्द गरी अस्ट्रेलियाबाट स्वदेश फर्काइएपछि उनले वर्षको पहिलो ग्राण्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन गुमाएका थिए ।