सर्लाहीमा जसपा नेपालको समानान्तर जिल्ला कमिटी गठन

सर्लाही, ३ फागुन । सर्लाहीमा जनता समाजवादी पार्टी नेपालको समानान्तर जिल्ला कमिटी गठन भएको छ ।
जिल्ला नेतृत्व चयनमा तत्कालीन संघीय समाजवादी पार्टीको कब्जा रहेकाले समानान्तर कमिटी गठन गर्नुपरेको कमिटीका संयोजक कौशल किशोर राय यादवले बताए ।
कविलासी नगरपालिकाका प्रमुख समेत रहेका यादवको संयोजकत्वमा २५१ सदस्यीय कमिटी गठन गरिएको छ । उनले पूर्व राजपाबाट तीनजना जिल्ला अध्यक्ष जसपा पार्टी निर्माण गर्दा एकजुट भए पनि आफूहरूलाई उपेक्षा गरिएको बताए । पटकपटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरिएपछि समानान्तर कमिटी गठन गर्नुपरेको उनको भनाइ छ ।
उनले जिल्लामा अझै पनि बेवास्ता भए यसको क्षति पार्टीले व्यहोर्नुपर्ने जानकारी दिए । ‘हामी तत्कालीन राजपाबाट तीन जना जिल्ला अध्यक्ष आएका छौं, हाम्रो लागि स्थान नै छैन, नेतृत्वलाई पटकपटक जानकारी गराउँदा पनि वास्ता भएन,’ उनले भने, ‘हामीले स्थान नपाउँदा कार्यकर्ता टिकाउनै गाह्रो भयो ।’ जिल्ला कमिटी नै समायोजन हुनुपर्ने उनको माग छ ।
संयोजक यादवले विधानविपरीत जिल्ला नेतृत्व गठन भएकाले आफूहरूलाई अमान्य रहेको तर्क गरे । जिल्ला कमिटी सबै अटाउने नबनाए पार्टीमा दुर्घटना हुनसक्ने उनको तर्क छ । जसपाको सर्लाहीमा उपेन्द्र यादव निकट मानिएका विरेन्द्र यादव नेतृत्वमा जिल्ला कमिटी छ ।
–कान्तिपुर
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


