धनगढी, २ फागुन । कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको धनगढी मेयर लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सत्यवती एकेडेमीले विजयी शुरुवात गरेको छ ।

१९ वर्षमुनिको विद्यालयस्तरीय प्रतियागिताको छैठौं संस्करणको उद्घाटन खेलमा सत्यवतीले लिटिल फ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गरेको हो ।

सत्यवतीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पुरै २० ओभर ब्याटिङ गरे पनि ८ विकेटको क्षतिमा १२४ रन मात्र बनाउन सक्यो ।

लिटिल फ्लावरका लागि कप्तान बिपिन रावलले सर्वाधिक ६२ रन बनाए । नरेन भट्टले २८ रन जोडे ।

सत्यवतीका लागि निरज भट्ट र युवराज खत्रीले दुई–दुई विकेट लिँदा सन्तोष कार्की, सन्दिप खत्री र सुजन गौतमको नाममा एक–एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सत्यवतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । उसका लागि सन्दिप खत्रीले सर्वाधिक ६६ रन बनाए ।

सन्तोष कार्कीले ३३, खगेन्द्र जोशीले ३२ तथा आदील अन्सारीले ३० रनको योगदान दिए । लिटिल फ्लावरका प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई–दुई विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच सन्दिप खत्री घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा होलिल्याण्ड स्कुल र एभरेस्ट एकेडेमीले तथा दोस्रो गुरुकुल मिडियम स्कुल र स्टेपिङ स्कुलले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको धनगढी उपमहानगरपालिका मेयर नृपत्रहादुर वडले उद्घाटन गरेका थिए ।