जनकपुरधाम, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध गठबन्धनकै सहमतिमा महाअभियोग दर्ता गरिएको बताएका छन् ।

आइतबार २७ औं जनयुद्ध दिवस मनाउन जनकपुरधाम आएका बेला सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश राणाले निकास नदिएपछि महाअभियोग दर्ता गरिएको बताए ।

उनले भने,‘पाँच दलिय गठबन्धनको सहमतिमा नै प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गरिएको छ । न्याय क्षेत्रमा केही समयदेखि अन्योलता, अराजकता र बेथिति देखिएको थियो । त्यसलाई नै हामीले किनारा लगाउने कोसिस गरेका हौँ । त्यसकै फलस्वरुप महाअभियोग दर्ता गरिएको छ ।’

अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउने विषयमा गठबन्धनका सबै दलहरू सहमत भएकाले यस कदमबाट गठबन्धन अझ बढि बलियो बन्ने दावी समेत गरे ।

प्रचण्डले स्वतन्त्र न्यायालयमा विचित्रको अवस्था आएको र यसको सहज निकासको प्रयास गर्दा समेत नभएपछि अन्त्यमा यो कदम चालिएको बताए ।

गठबन्धनका तीन दलका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश राणा निलम्बनमा परेका छन् ।