एजेन्सी, १ फागुन । फिफा क्लब विश्वकपको उपाधि इंग्लिस क्लब चेल्सले जितेको छ । शनिबार राति ब्रजिलयन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २–१ ले हराउँदै फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जितेको हो ।

साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा भएपछि खेल अतिरिक्त समयमा धकेलियो । ५५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए ।

उनले कलुम हड्सन ओडोईको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । ६४ औं मिनेटमा राफयल भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मिरसलाई १–१ गोलको बराबरीमा ल्याए ।

मार्कोस रोचाको थ्रो बललाई पेनाल्टी बक्सबाट क्लियर गर्ने क्रममा थियागो सिल्भले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै पाल्मिरसलाई पेनाल्टीको अवसर प्रदान गरेका थिए । जसमा भेइगा चुकेनन् ।

त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । ११७ औं मिनेटमा काइ हाभर्टजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए ।

पेनाल्टी क्षेत्रमा कप्तान सिजर एज्पिलिक्वेटाको प्रहार लुआन गार्सियाको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै चेल्सीलाई पेनाल्टी प्रदान गरेका थिए । त्यसमा हाभर्टज चुकेनन् ।

अतिरिक्त समयको पनि थप गरिएको समयमा लुआन गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि पाल्मिरस १० खेलाडीमा समेटियो । यो सिजनमा चेल्सीको यो दोस्रो उपाधि हो । जारी सिजनमै उसले युइएफए सुपर कपको उपाधि पनि उचालेको छ ।