एजेन्सी, १ फागुन । पश्चिमी देशहरूले रुसले आक्रमण गर्न सक्ने भन्दै आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन् ।

अमेरिका, बेलायत, जर्मनीलगायत एक दर्जनभन्दा धेरै देशले आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।

रुसले युक्रेनी सिमानामा झण्डै एक लाख सेना तैनाथ गरेको छ, तर आक्रमण गर्ने कुनै पनि योजना नभएको बताउँदै आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले फोनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणबारे चेतावनी दिएका छन् ।

यता, युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आक्रमणको चेतावनीले मानिसहरूमा त्रास पैदा गर्न सक्ने बताएका छन् ।

ह्वाइट हाउसले आक्रमण जुनसुकै बेला हुनसक्ने र हवाई हमलाबाट सुरु हुन सक्ने चेतावनी दिएको छ ।

अमेरिकी दूतावासका अत्यावश्यक बाहेकका कर्मचारीलाई युक्रेनको राजधानी किभबाट युक्रेन छाड्न आदेश दिइएको छ ।

अमेरिकाले युक्रेनी सैनिकलाई तालिम दिने आफ्ना १५० सैनिकलाई पनि बोलाएको छ । डच मिडियाका अनुसार एक डच एयरलाइन केएलएमले युक्रेनका लागि उडानहरू स्थगित गरेको घोषणा गरेको छ ।

यता, जेलेन्स्कीले यदि पश्चिमी शक्तिहरूसँग तत्काल आक्रमण गर्न सक्ने कुनै बलियो प्रमाण छ भने युक्रेनलाई खबर गर्न आग्रह गरेका छन् ।

अस्ट्रेलिया, इटाली, इजरायल, नेदरल्याण्ड र जापानले पनि आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन् । कतिपय देशले आफ्ना कूटनीतिज्ञ र उनको परिवारलाई पनि बाहिर निकालेका छन् ।

यसैबीच, रुसले युक्रेन मुद्दामा पश्चिमी देशहरूले युद्धको उन्माद सिर्जना गरिरहेको बताउँदै आएको छ ।