काठमाडौं, २९ माघ । ओमानमा जारी चारदेशीय अन्तर्राष्ट्रिय टि–२० सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।

१९३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ५ विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रनको योगदान दिए । आसिफ शेखले ३४ र डेब्यु गरेका लोकेश बलमे ३३ रन बनाए ।

युएईका लागि कासिफ दाउद र रोहन मुस्ताफाले दुई–दुई तथा जुनईद सिद्दिकीले एक विकेट हात पारे ।

अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।

युएईका लागि चिराग सुरीले अविजित ८४ रनको योगदान दिए । ५३ बलको सामना गरेका उनले समान पाँच चौका र छक्का प्रहार गरे ।

रोहन मुस्ताफाले ४९ र मोहम्मद वासिमले २२ रन बनाए बनाउँदा मोहम्मद बोता १४ रनमा अविजित रहे ।

नेपालका लागि साहब आलम, कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट हात पारे ।

जितसँगै युएईले सिरिजमा सुखद् सुरुवात गर्दा नेपालले भने पहिलो पराजय बेहोरेको छ । नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले हराएको थियो ।

नेपालले आफ्नो अन्तिम खेलमा सोमबार आयरल्यान्डको सामाना गर्नेछ ।