जनकपुरधाम, २९ माघ । लामो समयदेखि महन्थ ठाकुर नेतृत्वलाई साथ दिदैँ आएका प्रभावशाली नेता बृषेशचन्द्र लाल लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएका छन् ।

ठाकुर नेतृत्वको लोसपा नेपाल परित्याग गरेका लालले पुरानो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टीमार्फत राजनीतिक गतिविधि गर्ने भएका हुन् ।

‘लोसपा संस्थागत रुपमा चल्न सकेन्, लोसपा मात्रै होइन जसपा पनि संस्थागत रुपमा चल्न सकेको अवस्था छैन, एउटा केपी ओलीको पछाडि लागेको छ भने अर्को पार्टी प्रचण्डजीको पछि लागेको अवस्था छ,’ लालले भने, ‘मधेस आन्दोलनको मर्म र भावना बिपरित मधेसका नेताहरु सत्ता र कुर्सीका लागि ज्यान फाल्न थाले पछि मधेस आन्दोलनका आन्दोलनकारीहरूको भावनालाई सम्वोधन गर्न लोसपा छाडेको हुँ ।’

उनले महन्थ ठाकुर र उपेन्द्र यादव नेतृत्वको पार्टीले मधेस केन्द्रित दलको पहिचान गुमाउँदै गएकाले पार्टी छाड्न आफू विवश भएको बताए ।

‘मधेस आन्दोलनमा सक्रिय साथीहरुको सल्लाह अनुसार तमलोपा निर्वाचन आयोगमा पुनः दर्ता भएको छ, अबको राजनीति म यसैबाट गर्ने निष्कर्षमा पुगेको छु,’ लालले अगाडि भने, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार तमलोपाबाट खडा गर्ने गरी गृहकार्य भइरहेको छ, साथीहरु क्रमशः हामीसँग जोडिँदै जानुभएको छ ।’

उनका अनुसार रविशंकरलाल कर्णको संयोजकत्वमा निर्वाचन आयोगमा पुनः दर्ता भएको तमलोपमा संविधानसभा सदस्य डा.विजय सिंहलगायतका मधेस आन्दोलनका सारथीहरु रहेका छन ।

संगठन विस्तारका लागि फागुन पहिलो साताबाट तराई मधेसका सबैजसो जिल्लामा औपचारिक कार्यक्रम गर्ने तयारीसमेत भइरहेको छ ।