सहिद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेन्ड्सको शानदार जित

काठमाडौं, २८ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबारको पहिलो खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि ५–२ को शानदार जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्रेन्ड्सलाई पहिलो जित दिलाउने क्रममा जमोल एन्थोनी फ्रान्कोइस र सुशील शाहले दुई–दुई तथा स्यामबाबु क्यापछकीले एक गोल गरे ।
ब्रिगेडका लागि ड्याडी जुनियर वाम्बा र अनिल गुरूङले एक–एक गोल फर्काए ।
खेलको १४ औँ मिनेटमा सुशिलले फ्रिकिकमार्फत् गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए । ड्याडी जुनियर वाम्वाले कप्तान नाथानिल जुडे गार्सियालाई फउल गरेपछि प्राप्त फ्रिकिकमा फ्रेन्ड्सका लागि पहिलो खेल खेलिरहेका सुशिलले गोल गरेका हुन् ।
२५ औँ मिनेटमा वाम्बाले फ्रिकिकमै गोल गर्दै ब्रिगेडलाई १–१ को बराबरीमा ल्याए । असिम भुसालले भुवन बस्नेतलाई फउल गरेपछि प्राप्त फ्रिकिमा ड्यानीले जाली चुमाएका थिए ।
२७ औँ मिनेटमा श्यामबाबुले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए । रन्दिप पौडेलले नाथानिल जुडे गार्सियामाथि फउल गरेपनि रेफ्रीले फ्रेन्ड्सलाई एडभान्टेज खेलाउँदा विकास थापाले उपलब्ध गराएको पासलाई श्यामले पोस्टको दिशा दिएका थिए ।
उक्त गोलमा विवादमा उत्रिएपछि रेफ्री प्रज्वल क्षेत्रीले वैकल्पिक खेलाडी रजत तिवारीलाई सिधै रातो कार्ड तथा वैकल्पिक गोलरक्षक र सहायक प्रशिक्षकलाई पहेलो कार्ड देखाएका थिए ।
पहिलो हाफको थप गरिएको समयमा जमोलले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को अग्रता दिलाए । निसेन सुब्बाको फ्रिकिक बललाई जमोलले हेडमार्फत् गोल गर्न सफल भएका थिए ।
७६ औँ मिनेटमा जामोलले व्यत्तिगत दोस्रो गोल गर्दा फ्रेन्डस ४–१ ले अघि बढ्यो । उनले प्रिजेन तामाङको पासलाई सदुपयोग गरेका थिए ।
७८ औँ मिनेटमा प्रिजेनको पासलाई सदुपयोग गर्दै सुशिलले व्यत्तिगत दोस्रो गोल गरेपछि फ्रेन्ड्स ५–१ ले अघि बढ्यो ।
८६ औँ मिनेटमा अनिलले पेनाल्टीमार्फत् ब्रिगेडका लागि दोस्रो गोल गरे । रुडी जोनाथनलाई प्रिजेन तामाङले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि रेफ्रीले ब्रिगेडलाई पेनाल्टी प्रदान गरेका थिए । जसमा कप्तान अनिल चुकेनन् ।
जितसँगै १० खेलमा पहिलो जित निकालेर ६ अंक जोड्दै १२औँ स्थानमा उक्लिएको फ्रेन्ड्स रेलिगेसन जोनबाट बाहिर निस्कँदा समान खेलबाट समान अंक भए पनि ब्रिगेड रेलिगेसन जोनमा झरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


