मधेस प्रदेश : मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा प्रदेशको जनसांख्यिक तथ्यांक पूरानै

जनकपुरधाम, २८ माघ । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को अधिकारीक वेबसाइटमा प्रदेशको जनसांख्यिक तथ्यांक पूरानै रहेको देखिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नजिता सार्वजनिक भइसक्दासमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को अधिकारीक वेबसाइटमा अहिलेसम्म पूरानै तथ्यांक उल्लेख रहेको छ ।
२०७८ को जनगणनामा मधेस प्रदेशको कुल जनसंख्या ६१ लाख २६ हजार २८८ रहेपनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको कुल जनसंख्या ५४ लाख ४ हजार १४५ नै उल्लेख गरिएको हो । यो संख्या भने पछिल्लो जनगणना अनुसारको हो ।
मधेस सरकारले वेबसाइटको निर्माण तथा व्यवस्थापनमा लाखौँ रकम खर्च गरेपनि वेबसाइट भने अपडेट गर्दैनन् । मन्त्रिपरिषद्को निर्णय लगायतका कुनै सूचना वेबसाइटमा राखिदैन ।
सो कार्यालयले प्रकाशित गरेका केही सूचना मात्रै राख्ने गरे पनि करिब एक वर्षदेखि मन्त्रिपरिषद्को निर्णय वेबसाइटमा राख्न छाडिएको हो ।
यसअघि प्रदेशसभाबाट प्रदेश २ ले नाम र स्थायी राजधानी पाएपछि हप्तोसम्म मन्त्रालयका वेबसाइटहरुमा भने प्रदेश २ नै लेखिएको थियो । पछि चौतर्फी आलोचना हुँदा संशोधन गरिएको थियो ।
आर्थिक वर्ष २०७८–०८९ मा सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालनमा २ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ९ लाख ६० हजार, अर्थ मन्त्रालयले ३ लाख ६० हजार, उद्योग, पर्यटन तथा वन मन्त्रालयले ४ लाख ८० हजार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३ लाख ६० हजार, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले ५ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ लाख ६० हजार, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले २ लाख ४० हजार, सामाजिक विकास मन्त्रालयले २ लाख ८८ हजार रुपैयाँ वेबसाइटको नाममा खर्च छुट्टयाएको छ । सरकारले छुट्टयाएको बजेट खर्च भएको छ । तर, त्यस अनुसार परिणाम भने देखिँदैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


