१६ औँ संस्करणको एनएनआईपीए स्पोर्टस अवार्ड फागुन तेस्रो साता हुने

काठमाडौं, २७ माघ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले १६ औँ संस्करणको एनएनआईपीए स्पोर्टस अवार्ड फागुन तेस्रो साता गर्ने जनाएको छ ।
एनएनआईपीएले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड फागुन १७ गते हुने जनाएको हो ।
संघका महासचिव शिव सुन्दर गोथेले अवार्ड ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा रहेको बज्र बाराही मन्दिर परिसरमा आयोजना हुने जानकारी दिए ।
अवार्ड नेपाल ओलम्पिक कमिटीमा समावेश भएका २७ खेलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले १ लाखले सम्मान गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी, एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान प्रदान गरिनेछ । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्नेछन् ।
यस्तै, एक जना खेलकर्मीलाई ३५ हजार बराबरको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ भने एक खेलपत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार प्रदान गरिनेसमेत आयोजकले जानकारी गराएको छ ।
पत्रकारिता पुरस्कार प्राप्त गर्नेले २५ हजार प्राप्त गरिनेछ भने एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


