जनकपुधाम, २६ माघ । बुधबार बसेको मधेस प्रदेशको प्रदेश सभा बैठकमा जाँचबुझ आयोगसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पेश गरेको जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।

मन्त्री साहले पेश गरेको विधेयक माथि छलफल पश्चात सर्वसम्मत पारित भएको सभामुख सरोज यादवले जानकारी गराए ।

सरकारले प्रदेश भित्रको सार्वजनिक महत्वको विषयमा जाँचबुझ गर्न आयोगको गठन सम्बन्धी बिधेयक ल्याएको थियो ।

जाँचबुझ आयोगमा अदालतका पूर्व न्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा पूर्व सचिव वा उपसचिव र सम्बन्धीत विषयका विज्ञ सहित अन्य बढीमा दुईजना सदस्य रहनेछन् ।

आयोगका लागि जनशक्ति र बजेटको व्यवस्था प्रदेश सरकारले गर्नेछन् ।

विधेयकमाथिको छलफलमा प्रमुख प्रतिपक्षि दल लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक परमेश्वर साहले कानुन कार्यान्वनयमा मधेस प्रदेश सरकार फितलो रहेको आरोप लगाएका थिए ।

प्रदेश सभाको अर्को बैठक फागुन १ गते बस्ने भएको छ ।