काठमाडौं, २६ माघ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै सरकारको निर्णयबिरुद्ध महोत्तरीका एक नगरप्रमुखले पेश गरेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोक्ने सरकारको निर्णयविरुद्ध महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

मेयर साहले पेश गरेको निवेदन दर्ता गर्न योग्य नभएको भन्दै सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठको आदेश दिएका हुन् ।

मेयर साहले बैशाख ३० गते निर्वाचन गर्दा संविधानले तोके अनुसार आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भन्दै सरकारको निर्णय खारेजीको माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए ।

मेयर साहले पेश गरेको निवेदनमा आफू ७ असोज २०७४ मा निर्वाचित भएको र आफ्नो कार्यकाल ६ असोज २०७९ मा सकिने भएको हुँदा बैशाखमा निर्वाचन गर्दा आफूले पाँच वर्ष कार्यकाल पूरा गर्न नपाउने उल्लेख गरेका थिए ।