‘ए’ डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा नेपाल पुलिस क्लब विजयी

काठमाडौं, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।
पुलिसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासल युथ क्लबमाथि २–१ को रोमाञ्चक जित हात पारेको हो ।
खेलको ३७ औं मिनेटमा रविशंकर पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।
नीर कुमार राईको पासमा उनले पेनाल्टी क्षेत्रबाट गरेको क्रस बलले सिधै जाली चुमेको थियो ।
५३ औं मिनेटमा मोसा अवगानाले पेनाल्टीमार्फत गोल गर्दै च्यासललाई १–१ को बराबरीमा ल्याए ।
पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो ।
७० औं मिनेटमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए ।
उनले सुमन लामाले उपलब्ध गराएको पासलाई पोस्टको दिशा दिएका थिए ।
योसँगै प्रतियोगितामा दोस्रो जित हात पारेको पुलिसले ९ खेलमा १० अंक जोड्दै १० औं स्थानमा उक्लिँदा पराजित च्यासल समान खेलबाट ५ अंकका साथ १३ औं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


