किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने राउतको चेतावनी

पर्सा, २६ माघ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
पर्साको वीरगञ्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताएका हुन् ।
उनले भने,‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनी मात्र स्थानीय निर्वाचनको परिकल्पना गरौं । नभए अरु ठाउँमा त भन्न सकिन्न तर तराई–मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म हामी अवरोध गर्छौं ।’
जनमत पार्टी निर्वाचन विरोधी नभएको बताउँदै अध्यक्ष राउतले भने,‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो । किनकी एकै दिनमा यो समस्या समाधान हुने होइन ।’
किसान आन्दोलनमा उठेका मागहरु दिर्घकालिन समाधानका लागि किसानसँग सम्बन्धीत विधेयक ल्याएर ठोस कानुन नै बनाउनु पर्ने भएकाले आफूहरुको माग संघीय सरकारसँग रहेको डा.राउतले बताए ।
किसान आन्दोलनको ज्ञापन पत्र नलिने नेताहरु विदेशीको स्वार्थको पछाडि दौडिरहेको राउतले आरोप लगाए । अर्को चरणको किसान आन्दोलन आगामी फागुन १ गतेबाट घोषणा हुने अध्यक्ष राउतले जानकारी दिए ।
डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको प्रति अध्यक्ष राउतले दुःख व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


