भारतमा दैनिक संक्रमितको संख्या घट्दै

एजेन्सी, २४ माघ । भारतमा कोरोना संक्रमणको तेस्रो लहर ओरालो लाग्न थालेको छ । त्यहाँ तेस्रो लहर ‘पिक’मा पुगेसँगै दैनिक संक्रमितको संख्या पछिल्लो समय निरन्तर घटिरहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, उक्त अवधिमा ८९५ जना संक्रमितको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या समेत घटेर ११ लाख ८ हजार ९३८ पुगेको छ ।
भारतमा संक्रमितको संख्या घट्न थालेसँगै प्रतिबन्धात्मक नियम खुकुलो पार्न थालिएको छ । सोमबारदेखि सरकारी कार्यालय पूर्ण रुपमा खुलेका छन् ।
त्यस्तै, आजदेखि राजधानी दिल्ली, उत्तर प्रदेश र बिहारमा शैक्षिक संस्था खुला गरिन थालिएको छ । दिल्लीमा पनि ९ देखि १२ कक्षाको पढाइ सुरु भएको छ । तर, नर्सरीदेखि ८ कक्षासम्मको पढाइ भने फेब्रुअरी १४ बाट सञ्चालन हुनेछ ।
दिल्लीमा लगाइएको रात्रिकालीन कर्फ्यूको अवधि १ घण्टाले घटाइएको छ । रात्रिकालीन कर्फ्यू राति १० बजेको साटो ११ बजेदेखि बिहान ५ बजेसम्म कायम रहने छ । साथै, कार्यालयहरू सतप्रतिशत क्षमतामा खुला गर्न सकिने र कारमा एक्लै सवार गर्ने व्यक्तिले मास्क लगाउनु पर्ने छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


