बार्सिलोनाले एटलेटिको मड्रिडमाथि ४–२ को सहज जित निकाल्यो

एजेन्सी, २४ माघ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले एटलेटिको मड्रिडमाथि ४–२ को सहज जित हात पारेको छ ।
क्याम्प नोउमा भएको खेलमा शुरुवाती अग्रता लिए पनि एटलेटिले त्यसलाई जोगाउन सकेन । खेलको आठौं मिनेटमा यानिक कारास्कोको गोलबाट एटलेटिकोले शुरुवाती अग्रता लिएको थियो ।
१० औं मिनेटमा जोर्डी अल्बाले बार्सिलोनालाई बराबरी १–१ को बराबरीमा ल्याए । २१ औं मिनेटमा गाभीको गोलबाट बार्सिलोनाले २–१ को अग्रता बनायो । ४३ औं रोनाल्ड अरुजोले गोल गरेपछि घरेलु टोली ३–१ ले अघि बढ्यो ।
४९ औं मिनेटमा डानी आल्भेसले बार्सिलोनाका लागि चौथो गोल गरे। ५८ औं मिनेटमा लुईस स्वारेजले एटलेटिकोका लागि दोस्रो गोल गरेपछि बार्सिलोनाले ४–२ को सहज जित निकालेको हो ।
६९ औं मिनेटमा डानी आल्भेसले रातो कार्ड बेहार्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । जितसँगै बार्सिलोना २२ खेलमा ३८ अंक जोडेर चौथो स्थानमा उक्लिँदा पराजित एटलेटिको ३६ अंकका साथ पाँचौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


