एजेन्सी, २४ माघ । अस्ट्रेलियामा अक्टुबर १६ देखि नोभेम्बर १३ सम्म हुने आइसिसी पुरुष टि–२० विश्वकपको टिकट बिक्री खुल्ला गरिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सोमबारबाट विश्वकपको सबै खेलका टिकट बिक्री खुल्ला गरेको हो ।

टिकटको शुरुवाती मूल्य बालबालिकाका लागि ५ अमेरिकी डलर तथा अन्यका लागि २० डलर रहेको छ । विश्वकपका खेलहरू एडिलेड, ब्रिसबेन, गिलोङ, होबार्ट, मेलबर्न, पर्थ र सिड्नीमा हुनेछन् ।

सुपर १२ अन्तर्गत भारत र पाकिस्तानबीच अक्टुबर २३ मा हुने खेलको भने सबै टिकट बिक्री भएको छ ।

बिक्री खुल्ला भएको ५ घण्टामै भारत र पाकिस्तानबीच हुने खेलको सम्पूर्ण टिकट बिक्री भएको आइसिसीले बताएको छ ।