एजेन्सी, २३ माघ । अफ्रिका कप अफ नेसन्सअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा आयोजक क्यामरुन विजयी भएको छ ।

शनिबार राति सम्पन्न खेलमा बुर्किना फासोलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै क्यामरुन विजयी भएको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा क्यामरुनका लागि एबोरिस ओयोन्गो, पिएरी कुन्डे, कार्ल टोको इकाम्बी, मौमी नग्मलेउ र भिसेन्ट अबौबाकरले गोल गरे ।

बुर्किना फासोका लागि स्टिभ यागो, सौमइला ओउटारा र इस काबारेले गोल गर्दा बलाटी टोउरे चुके । यसअघि अहमोदौ स्टेडियममा बुर्किना फासोले ३ गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । खेलको १२ औं मिनेटमा स्टिभ यागोको गोलमार्फत बुर्किना फासोले अग्रता लिएको थियो ।

४३ औं मिनेटमा क्यामरुनका गोलरक्षक आन्द्रे ओनानाले आत्मघाती गोल गर्दा बुर्किना फासो २–० ले अघि बढ्यो । ४९ औं मिनेटमा डान्गो ओउटाराले टोलीलाई ३–० को आरामदायी अग्रता दिलाएका थिए ।

तीन गोलले पछि परे पनि घरेलु टोलीले उत्कृष्ट पुनरागमन ग¥यो । ७१ औं मिनेटमा स्टेफन बहोकिनले गोल गर्दै क्यामरूनलाई ३–१ को अवस्थामा ल्याए ।

भिसेन्ट अबौबाकरले ८५ र ८७ औं मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटसम्म पुग्यो । जसमा क्यमरुनले बाजी मार्न सफल भयो ।

सेमिफाइनलमा क्यामरुन इजिप्ट तथा बुर्किना फासो सेनेगलसँग पराजित भएका थिए ।