अस्ट्रेलियालाई हराउँदै भारत यु–१९ एकदिवसीय विश्वकपको फाइनलमा

एजेन्सी, २० माघ । अस्ट्रेलियालाई ९६ रनले हराउँदै भारत वेस्ट इण्डिजमा जारी यु–१९ एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारत आठौंंपटक १९ वर्षमुनिको विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
हालसम्म चारपटक उपाधि जितिसकेको भारतले यसपालि फाइनलमा इंग्ल्याण्डको सामना गर्नेछ । उपाधि भिडन्त शनिबार हुनेछ ।
गएराति भएको दोस्रो सेमिफाइनलमा २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियायाले ४१.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो ।
उसका लागि लचलान शाले ५१, कोरे मिलर ३८, क्याम्पबेल केल्लावेले ३०, ज्याक सिनफिल्ड २० र टम ह्टनीले १९ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सम्झनलायक रहेन । बलिङमा विक्की ओस्टलले तीन, निशान्त सिन्धु र रवि कुमारले दुई÷दुई विकेट लिए ।
त्यसअघि, कुलिज क्रिकेट ग्राउन्ड एन्टिगुवामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो । उसका लागि यश धुल र शेख राशिदले शानदार पारी खेले । धुलले १ सय १० बलमा १० चौका र एक छक्कासहित १ सय १० रन बनाए ।
राशिदले १ सय ८ बलमा ८ चौका र एक छक्काको सहयोगमा ९४ रनको पारी खेले । त्यस्तै, दिनेश बनाले अविजित २०, हरनूर सिंहले १६, राजवर्धन हांगरगेकरले १३ र निशान्त सिन्धुले १२ रनको योगदान दिए । बलिङमा ज्याक निस्वेट र विलियम साल्जम्यानले दुई/दुई विकेट लिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


