एजेन्सी, २० माघ । बुर्किना फासोमाथि ३–१ को सहज जित निकाल्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति अहमदौ अहिद्जो स्टेडियममा भएको पहिलो सेमिफाइनलमा सेनेगलको जितमा एबदौ दाइलो, इद्रिसा गुइए र सादियो मानेले १–१ गोल गरे ।

बुर्किना फासोका लागि बलाटी टोउरेले १ गोल फर्काए । खेलको ७० औं मिनेटमा दाइलोको गोल मार्फत सेनेगलले अग्रता लिएको थियो । ७६ औं मिनेटमा गुइएले टोलीको अग्रता दोब्बर बनाए ।

८२ औं मिनेटमा टोउरेले खेललाई २–१ को अवस्थामा ल्याए । ८७ औं मिनेटमा मानेले गोल गरेपछि सेनेगलले ३–१ को सहज जित निकाल्दै फाइनलमा स्थान सुरक्षित ग¥यो ।

सेनेगलले अब उपाधिको लागि क्यामरुन र इजिप्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।