एजेन्सी, १९ माघ । अफगानिस्तानलाई डिएल मेथडका आधारमा १५ रनले हराउँदै इंग्ल्याण्ड आइसिसी यु–१९ विश्वकपको फाइनल प्रवेश गरेको छ ।

वर्षाका कारण ४७ ओभरमा झारिएको खेलमा २३१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पूरै ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै २१५ रन मात्र बनाउन सक्यो ।

उसका लागि अल्लाह नूरले सर्वाधिक ६० रनको योगदान दिए । ८७ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । मोहम्मद इसकले ४३ रन जोड्दा अब्दुल हादी ३७ रनमा अविजित रहे ।

इंग्ल्याण्डका लागि रेहन अहमदले चार, थोमस अस्पिनवालले दुई तथा जोसुवा ब्वाइडेन र टोम प्रेस्टले एक÷एक विकेट हात पारे । एक विकेट भने इंग्ल्याण्डलाई रन आउटको रूपमा प्राप्त भयो । त्यसअघि सर भिभियन रिचर्डस स्टेडियममा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेट गुमाउँदै २३१ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि जर्ज बेल, एलेक्स होर्टोन र जर्ज थोमसले अर्धशतकीय पारी खेले । ५६ रनमा अविजित रहेका बेलले ६७ बलमा ६ चौका प्रहार गरे । होर्टोनले ३६ बलमा पाँच चौका र एक छक्काको मदतले अविजित ५३ रन जोडे ।

५० रन बनाएका थोमसले ६९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कप्तान टोम प्रेस्टले १७ रनको योगदान दिए । सातौं विकेटका लागि बेल र होर्टोनले अविजित ९४ रनको साझेदारी गर्दै इंग्ल्यान्डको पारी उकासेका थिए ।

अफगानिस्तानका लागि नाभिद जद्रान र नूर अहमदले दुई÷दुई तथा नान्गेयालिया खरोटी र इज्हारउल्हक नाभिदले एक/एक विकेट हात पारे । इंग्ल्याण्डले उपाधिका लागि अस्ट्रेलिया र भारतबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।