खेलकुदमन्त्री गहतराजले नेपाली फुटबल टिमका खेलाडीलाई दिए बधाई

काठमाडौं, १९ माघ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई बधाई दिएका छन् ।
अफ्रिकी देश मोरिसससँगको मैत्रीपूर्ण खेलमा जित हासिल गरेपछि उनले टोलीलाई बधाई दिएका हुन् ।
दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० गोलले पराजित गरेको थियो । शनिबार भएको पहिलो खेलमा समेत नेपाल विजयी भएको थियो ।
अफ्रिकन देशसँग पहिलोपटक भएको दुवै मैत्रीपूर्ण खेल हेर्न मन्त्री गहतराज रंगशाला गएका थिए । खेल सकिएपछि प्रतिक्रिया दिँदै उनले नेपाली खेलाडीको प्रदर्शनबाट आफू प्रभावित भएको प्रतिक्रिया दिए ।
प्रतियोगिता समयभरी उत्साहित देखिएका मन्त्री गहतराजले नेपाली खेलाडीले स्तरीय खेल प्रदर्शन गरेको भन्दै खुसीसमेत व्यक्त गरे । उनले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत प्रशंसा गरेका छन् ।
साथै, पहिलोपटक मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिसको टिमलाई पनि मन्त्री गहतराजले धन्यवाद दिएका छन् ।

