कोरोना महामारीविरुद्ध जीत घोषणा गर्ने समय आएको छैन : विश्व स्वास्थ्य संगठन

एजेन्सी, १९ माघ । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोना महामारीविरुद्ध जीत घोषणा गर्ने समय आइनसकेको बताएका छन् ।
मंगलबार पत्रकारसँग कुराकानी गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले कोभिड महामारीविरुद्ध जीत घोषणा गर्ने समय आइनसकेको बताएका हुन् ।
‘कुनै पनि मुलुकले आत्मसमर्पण वा जीत घोषणा गर्ने समय आइसकेको छैन’,उनले भने, ‘यो भाइरस खतरनाक छ र हाम्रै आँखा अगाडि यसको विकास भइरहेको छ ।’
‘केही मुलुकमा खोप र ओमिक्रोनको उच्च संक्रमण क्षमता तर न्यून जोखिमका कारण संक्रमणलाई रोक्न सकिँदैन भन्ने सोंच हाबी भएको छ’, गेब्रेयससले थपे, ‘सत्य अगाडि कोही पनि हुँदैन ।’ दश हप्ताअघि दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट पहिचान भएपछि विश्वभर ९ लाख संक्रमित अर्थात् २०२० को भन्दा बढी थपिएको पनि उनको भनाइ थियो ।
ओमिक्रोन भेरियन्ट सामान्य भएको भनिए पनि विश्वका केही क्षेत्रमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या चिन्ताजनक रुपमा बढ्न थालेको पनि गेब्रेयससले बताए । यसको अर्थ तथाकथित लकडाउनतिर फर्किनुपर्ने नभएको पनि उनको भनाइ थियो ।
ओमिक्रोनको सब भेरियन्ट बीए.२ जस्ता अचानक आइपर्ने भेरियन्टलाई निरन्तर निगरानीमा राख्नु पर्ने पनि गेब्रेयससको भनाइ थियो । ‘यो भाइरस निरन्तर विकास भइरहन्छ’, उनले भने, ‘यही कारण सबै मुलुकलाई परीक्षण, निगरानी र सिक्वेन्सिङ गर्न हाम्रो अपिल छ ।’
युरोपेली मुलुक डेनमार्कमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितको संख्या अहिलेसम्मकै अत्यधिक भएका बेला सबै प्रतिबन्ध हटाइएपछि गेब्रेयससको पछिल्लो अभिव्यक्ति आएको हो । संसारभर ओमिक्रोन भेरियन्टका कारण कोभिड संक्रमित बढीरहेका भए पनि कैयौं मुलुकले कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियम हटाउने तयारी गरेका छन् ।

