अमेरिका र रुसका कुटनीतिज्ञबीच चर्काचर्की

एजेन्सी, १८ माघ । युक्रेनमा जारी संकटबीच बसेको राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका कुटनीतिज्ञबीच चर्काचर्की भएको छ ।
सुरक्षा परिषद्को बैठकमा राष्ट्रसंघका लागि अमेरिकी र रुसी राजदूतबीच चर्काचर्की भएको हो ।
बैठकमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले युक्रेनमा रुसले हमला गरे भीषण युद्ध सुरु हुने र यसबाट अन्तर्राष्ट्रिय सुरक्षा जोखिममा पर्ने चेतावनी दिइन् ।
‘मित्रहरू, हामीले युरोपमा सामना गरिरहेको अवस्था खतरनाक र तत्काल ध्यान दिनु पर्ने खालको छ’, सुरक्षा परिषद्को विशेष खुला सत्रमा बोल्दै ग्रिनफिल्डले भनिन्, ‘रुसी गतिविधिले राष्ट्रसंघको बडापत्रमाथि प्रहार गर्छ । यसबाट शान्ति एवं सुरक्षामाथि खतरा पर्ने कुरा छर्लङ्ग छ यस्तो खतरालाई सहजै अनुमान गर्न सकिन्छ ।’
तर राष्ट्रसंघका लागि रुसी राजदूत भ्यासिली नेबेन्ज्याले अमेरिकामाथि नै उल्टो आरोप लगाएका थिए । नेबेन्ज्याले युक्रेनमाथि हमला गर्ने आफूहरूको कुनै योजना नभएको बताउँदा समेत अमेरिका र उसका सहयोगी राष्ट्रले युद्धको त्रास फैलाएको आरोप लगाए ।
अमेरिकाले युक्रेनलाई लिएर जारी संकटबारे छलफल गर्नुपर्ने अनुरोध गरेपछि सोमबार सुरक्षा परिषद्को बैठक बसेको थियो । युक्रेन संकटलाई कुटनीतिक पहलमार्फत् समाधान गर्नका लागि भइरहेका प्रयासबीच पहिलो पटक परिषदको बैठक बसेको हो ।
यसैबीच, सुरक्षा परिषद्को बैठकलगत्तै ह्वाइट हाउसले युक्रेन संकटलाई कूटनीतिक तबरले समाधान गर्न रुसलाई पुनः अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


