काठमाडौं, १८ माघ । मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले शुरुवाती–११ घोषणा गरेको छ । दोस्रो खेलमा अघिल्लो म्याचमा निर्णायक गोल गर्ने विमल घर्ती मगरले शुरुवाती–११ मा मौका पाएका छैनन् ।

उनलाई वैकल्पिक खेलाडीको रूपमा राखिएको छ । दोस्रो खेलमा कोच अब्दुल्लाह अल्मुताइरीले डिफेन्डर नवीन गुरुङलाई डेब्यु गराएका छन् । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) बाट खेलिरहेका नवीनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

नेपाल र मोरिससबीचको दोस्रो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पौने पाँच बजे सुरु हुनेछ । घरेलु टोली नेपाल मोरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ । मोरिसस पनि आज नेपाललाई हराएर पहिलो खेलमा बेहोरेको हारको बदला लिन चाहन्छ ।

दोस्रो खेलका लागि नेपालको शुरुवाती–११ : किरण चेम्जोङ (कप्तान), नविन गुरुङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, पूजन उपरकोटी, एरिक विष्ट, तेज तामाङ, दर्शन गुरुङ, आशिष लामा र अञ्जन विष्ट ।