भारतमा कोरोना संक्रमितको दैनिक संख्या घट्दै

एजेन्सी, १७ माघ । भारतमा कोरोना संक्रमितको दैनिक संख्या घट्न थालेको छ । त्यहाँ दैनिक संक्रमितको संख्या केही दिनयता लगातार घटिरहेको छ ।
कोभिड–१९ का संक्रमित १० दिनसम्म लगातार घट्न थालेसँगै भारतमा तेस्रो लहर ‘पिक’ मा पुगेर ओरालो लागेको अनुमान हुन थालेको छ । पछिल्ला २ दिन साप्ताहिक संक्रमण दरमा कमि आएको छ ।
बिहीबार १६.८४ प्रतिशत रहेको साप्ताहिक संक्रमण दर घटेर शनिबार १५.६३ पुगेको छ । झण्डै १ महिनापछि साप्ताहिक दर घटेको हो ।
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ९१८ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या आइतबारको तुलनामा २४ हजारले कम हो । आइतबार त्यहाँ २ लाख ३४ हजार २८१ जना नयाँ संक्रमित थपिएका थिए ।
तर, भारतमा पछिल्ला ३ दिनयता कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या भने बढिरहेको छ । पछिल्लो २४ घण्टामा ९५९ जना संक्रमितको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जबकी आइतबार ८९३ जना र शनिबार ८७१ जना संक्रमितको ज्यान गएको थियो । योसँगै त्यहाँ हालसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४ लाख ९५ हजार ५० पुगेको छ ।
त्यस्तै हालसम्म भारतमा कुल ४ करोड १३ लाख २ हजार ४४० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ८९ लाख ७६ हजार १२२ जना निको भइसकेको भारतीय समाचार माध्यमले जनाएका छन् । समाचार अनुसार त्यहाँ सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार २६८ रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


