काठमाडौं, १७ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न टी–२० विश्वकप ग्लोबल छनोटका लागि रघुराम श्रीनीवासलाई फिल्डिङ सल्लाहकार प्रशिक्षकको रूपमा ल्याएको छ । उनलाई क्यानले जारी बन्द प्रशिक्षणको लागि फिल्डिङ सल्लाहकार प्रशिक्षकको रूपमा ल्याएको हो ।

श्रीनिवासले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग पनि काम गरिसकेका छन् । पुबुदु अमेरिकाको प्रशिक्षक रहेका बेला श्रीनीवासले सँगै काम गरेका थिए । उनले क्रिकेट अस्ट्रेलियाको हाई पर्फमेन्स (तेस्रो लेभल) कोर्स पनि गरिसकेका छन् ।

पुबुदुले श्रीनिवास ऊर्जाजान फिल्डिङ प्रशिक्षक रहेको भन्दै प्रशंसा पनि गरेका छन् ।

‘कोच रघुले अमेरिकामा मसँगै काम गरेका छन् । उनी एक राम्रो ऊर्जावान फिल्डिङ प्रशिक्षक हुन्, जसले नेपाली टोलीको अभावमा केही क्षेत्रहरू पूरा गर्न सक्छन् । छोटो सूचनामा आफ्नो बहुमूल्य समय दिनुभएकोमा म उनीप्रति आभारी छु,’ पुबुदुले भनेका छन् ।

नेपाली टिमले अहिले कीर्तिपुरस्थित त्रिवि मैदानमा बन्द प्रशिक्षण गरिरहेको छ । केही दिनभित्र टोली चारदेशीय सिरिज र ग्लोबल छनोटका लागि ओमान उड्दैछ । त्यहाँ नेपालले विश्वकप छनोटअघि ओमान, आयरल्याण्ड र युएईसँग टी–२० सिरिज खेल्नेछ । सिरिज माघ २८ सुरु भएर फागुन २ मा सकिनेछ ।

नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र तेस्रो खेल फागुन २ मा आयरल्यान्डसँग खेल्नेछ । त्यसपछि नेपालले विश्वकपअन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिता खेल्नेछ । यो प्रतियोगिता फागुन ६ गतेदेखि सुरु हुनेछ । समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम रहेका छन् ।