टेनिस स्टार इमा राडुकानुलाई पछ्याउने युवक दोषी ठहर

एजेन्सी, १६ माघ । बेलायती टेनिस स्टार इमा राडुकानुलाई पछ्याउने ३५ वर्षीय एक युवक दोषी ठहर भएका छन् ।
ब्रिटिस मिडियाका अनुसार ब्रोम्ली मजिस्ट्रेटको अदालतले अमृत मगरलाई दोषी ठहर गरेको हो ।
डेलीमेलका अनुसार पूर्व डेलिवरी चालक मगरले फूलहरू र प्रेमपत्र राडुकानुको घरको ढोकामा छाडेका थिए । त्यसपछि १९ वर्षीया राडुकानुले आफू असुरक्षित भएको भन्दै उजुरी दिएकी थिइन् ।
डेलीमेलका अनुसार राडुकानुले अदालतलाई दिएको बयानमा भनेकी छन्, ‘यो सबै भएदेखि एक्लै बाहिर जाँदा डर लाग्छ ।’
गत वर्षको युएस ओपन टेनिस प्रतियोगिताको उपाधि उचालेकी राडुकानुको खेल हेरेपछि मगरले उनलाई पछ्याउने थालेका थिए ।त्यसपछि उनको ठेगाना पक्ता लगाएर त्यहाँ पुग्ने गरेका थिए ।
अमृतले पहिलो पटक राडुकानुलाई उनी प्रेमको हकदार रहेको भन्दै एक पत्र छाडेका थिए । दोस्रोपटक उनलाई भेट्ने आशामा उत्तर लन्डनको एडगवेयरबाट हिँडेको २३ माइल चित्रण गर्ने नक्सा छाडेका थिए ।
अन्तिम पटक डिसेम्बर ४ मा अमृतले राडुकानेको बगैँचामा क्रिसमस लाइटहरू सजाउनुका साथै राडुकानुको सोचेर उनको बुबाको जुत्ता चोरेका थिए ।
राडुकानुका बुबा इयानले सिसी क्यामराबाट अमृतलाई पहिचान गरेका थिए किनभने उनी पटक–पटक दक्षिण लण्डनमा रहेको सो घरतिर आउनुका साथै कारले पछ्याएका थिए ।
पक्राउ पर्दा चोरी गरेको जुत्ता उनको झोलामा रहेको थियो जसलाई अमृतले चिनोका रूपमा राखेका थिए । मगरलाई अर्को महिना सजाय सुनाइने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


