एजेन्सी, १५ माघ । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले स्पेनिस क्लब एट्लेटिको मड्रिडका बेल्जियन विंगर यान्निक कारास्कोलाई तीन खेलको प्रतिबन्ध लगाएको छ ।

यान्निकले च्याम्पियन्स लिग अन्तर्गत पोर्चुगिज क्लब पोर्टाेविरुद्ध समूह चरणको अन्तिम खेलमा रातो कार्ड पाएका थिए ।

युइएफएको अनुशासन कमिटीले शुक्रबार उनलाई तीन खेलको प्रतिबन्ध सुनाएको हो । युइएफए आचारसंहिताको धारा १५ ले कुनै खेलाडी वा खेलमा उपस्थित अन्य व्यक्तिलाई केही गरेको अवस्थामा तीन खेलसम्मको प्रतिबन्ध हुने उल्लेख छ ।

कारास्कोले पोर्टाेका ओटाभियोलाई मुक्का हानेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए ।

यो प्रतिबन्धसँगै कारास्कोले च्याम्पियन्स लिग अन्तरगत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध प्रि–क्वाटरफाइनलको दुवै लेगसँगै एट्लेटिको क्वाटरफाइनल पुगेमा पहिलो लेगको खेल गुमाउनेछन् ।