काठमाडौं, १४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारसँग कोरोनाविरुद्धको १ करोड १४ लाख ४५ हजार ४८८ मात्रा खोप स्टक रहेको जनाएका छन् । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा उनले एक सन्देश जारी गर्दै यो तथ्यांक सार्वजनिक गरेका हुन् ।

हालसम्म नेपालमा ४ करोड २० लाख ४९ हजार ६४० मात्रा खोप विभिन्न विधिबाट भित्रिएकोमा ३ करोड ६ लाख ४ हजार १५२ मात्रा प्रयोग भइसकेको पनि मन्त्री खतिवडाले जनाएका छन् ।

उनका अनुसार यो एक वर्षमा नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जान्सन एन्ड जान्सन, मोडर्ना, फाइजर खोप प्रयोगमा आएको छ । पछिल्लो समय १२ वर्षमाथिका सबैका लागि खोप अभियान सुरु भएको पनि उनले प्रस्ट पारेका छन् ।

उनका अनुसार १८ वर्षभन्दा माथिका लक्षित जनसंख्याको ७० प्रतिशतले पूर्णमात्रामा र ८३ प्रतिशतले कमसे कम एक मात्रा खोप लगाइसकेका छन् । १२ देखि १७ वर्षसम्मका १८ लाख ७२ हजार ६७० जनाले पहिलो मात्रा र ३ लाख ५८ हजार २९८ जना बालबालिकाले पूर्णमात्रा खोप लगाइसकेको पनि स्वास्थ्य मन्त्री खतिवडाले जनाएका छन् ।

उनका अनुसार अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने पेशाका झण्डै ३ लाख जनालाई अतिरिक्त मात्रा खोप लगाइसकिएको छ ।