पाकिस्तानी सेनाको चेकपोष्टमा गरिएको आतंकवादी हमलामा परी १० सैनिकको मृत्यु

एजेन्सी, १४ माघ । पाकिस्तानी सेनाको एक चेकपोष्टमा गरिएको आतंकवादी हमलामा परी १० जना सैनिकको ज्यान गएको छ भने कैयौं घाइते भएका छन् ।
पाकिस्तानी सेनाले दक्षिण–पश्चिमी प्रान्त बलोचिस्तानको केच जिल्लास्थित सुरक्षा बलको चेकपोष्टमा गरिएको आतंकवादी हमलामा परी १० जना सैनिक मारिएको बताएको हो ।
सेनाको सञ्चार विभाग इन्टर–सर्भिसेस पब्लिक रिलेसन्नस (आईएसपीआर) ले जारी गरेको विज्ञप्ति अनुसार जनवरी २५ र २६ गते आतंकवादीहरूले चेकपोष्टमा हमला गरेका थिए ।
आतंकवादी समूह र सेनाबीच लामो समय भिडन्त भएको र उक्त भिडन्तमा एकजना आतंककारी मारिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
हमला लगत्तै सेनाले गरेको कारबाहीका क्रममा ३ जना आतंककारी पक्राउ परेको डन न्युजले जनाएको छ । हमलामा संलग्नको खोजी कार्य जारी रहेको पनि समाचारमा उल्लेख छ । तर हालसम्म हमलाको जिम्मेवारी कसैले लिएको छैन ।
इरान र अफगानिस्तानसँग जोडिएको बलोचिस्तानमा लामो समयदेखि हिंसात्मक विद्रोह जारी छ । यसअघि बलोच विद्रोही समूहले सो क्षेत्रको चीन–पाकिस्तान आर्थिक कोरिडरलाई लक्षित गरी कैयौं हमला गरेका थिए ।
यसै महिनाको सुरुमा बान्नु जमिखेलस्थित सैनिक पोष्टमा हमला हुँदा एक जना जवानको मृत्यु भएको थियो । त्यस्तै, जनवरी ५ मा खाइबर पाख्तुनख्वामा सुरक्षा बलले गरेका छुट्टा–छुट्टै कारबाहीका क्रममा २ जना सैनिक र २ जना आतंककारीको मृत्यु भएको थियो ।
गत महिना समेत उत्तरी वाजिरिस्तानको जातीय क्षेत्रमा भएको आतंककारी र सेनाबीच भएको भिडन्तमा ४ जना सैनिकको ज्यान गएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


