एजेन्सी, १३ माघ । दक्षिण कोरियामा कोरोना महामारी सुरु भएयताकै एकैदिनमा सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार गत २४ घण्टामा १४ हजार ५७१ संक्रमित देखिएका हुन् । यो संक्रमण संख्या यहाँ कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ ।

योसँगै दक्षिण कोरियामा कुल संक्रमितको संख्या ७ लाख ७७ हजार नाघेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा पनि नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ ।

पछिल्लो दिनहरूमा अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढेको कोरियाली रोग नियन्त्रण केन्द्रले जनाएको छ । दक्षिण कोरियामा गत २४ घण्टामा ३४ संक्रमितको मृत्यु भएको छ ।

योसँगै दक्षिण कोरियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ६५४ जना पुगेको छ । –सिन्ह्वा