ज्यानमारा रामजानकी हस्पिटल : हातको अपरेशन गराउन आएकी महिलाको चिकित्सकको लापरवाहीका कारण मृत्यु !

जनकपुरधाम, १२ माघ । पटक पटक बिरामीलाई अनाहकमा ज्यान मार्दै आएको जनकपुरधामस्थित रामजानकी हस्पिटलले पुनः एक बिरामीको ज्यान लिएको छ ।
रामजानकी हस्पिटलमा हात भाँचेर अपरेशन गराउन आएकी एक महिलाको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको हो ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ पिपरा बस्ने ५० वर्षीया चन्द्रकला कामतको हातको अपरेशन भएपश्चात ज्यान गएको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।
गत माघ ८ गते शनिबार भैंसीले पर्छादा हात भाँचेको कामतलाई थप उपचारका लागि जनकपुरधामस्थित रामजानकी हस्पिटलमा ल्याइएको थियो ।
मंगलबार अस्पताल पुगेकी कामतको सोही अस्पतालमा कार्यरत डाक्टर संजय साहले बुधबार साँझ साढे ५ बजे अपरेशन गरेका थिए । अपरेशनपछि कामतको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ३ घण्टा बित्न नपाउँदै आफ्नो आमाको मृत्यु भएको मृतकका छोरा रामसकल कामतले बताए ।

यता अस्पताल प्रशासनले भने मुटुको चाल कम हुँदा कामतको मृत्युको भएको दाबी गरेको छ । अस्पतालका प्रशासन प्रमुख विकास चन्द्र गुप्ताले बिरामीको मृत्युको कारण अपरेशन नरहेको जिकिर गरेका छन् ।
यता मृतकका छोरा रामसकल कामतले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अपरेशनपछि आफ्नो आमाको मृत्यु भएको दावी गरेका छन् ।
यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो समय यस अस्पतालमाथि उपचारका क्रममा चिकित्सकले लापरवाही गरेको, कोरोनाकालमा गत वर्ष कम मूल्यका औषधि बढि मूल्यमा बेचेकोलगायतका बिभिन्न आरोपहरु लाग्दै आएका छन् ।
उपचारका क्रममा रामजानकी हस्पिटलमा बिरामीको ज्यानै लिने यस्ता खालका घटना विगतमा पनि पटक–पटक दोहोरिंदै आएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


