काठमाडौं, १२ माघ । विभागीय टोली नेपाल एपिएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

एपिएफले पोखरा रंगशालमा बुधबार भएको पहिलो सेमिफाइनलमा मछिन्द्र क्लबमाथि ३–१ को सहज जित हात पारेको हो । खेलको २५ औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा ओमोलाजा करिमले मछिन्द्रलाई १–१ को बराबरीमा ल्याए । ६८ औं मिनेटमा प्रदिप लामाले एपिएफलाई २–१ ले अघि बढाए ।

७१ औं मिनेटमा ओमोलाजा करिमले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि मछिन्द्र १० खेलाडीमा सीमित बनेको थियो । थप गरिएको समयमा कप्तान नवीन लामाले गोल गरेपछि ३–१ को सहज जित निकाल्दै एपिएफले उपाधि भिडन्त पक्का गर्याे ।

एपिएफ १४ वर्षपछि आहा रारा गोल्डकपको फाइनल पुगेको हो । उसले पछिल्लोपटक विसं २०६४ सालमा फाइनल खेलेको थियो ।

एपिएफ अमेरिकाको बिवाइएससी मिनेसोटालाई ३–१ तथा मछिन्द्र साविक विजेता संकटा क्लबलाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

एपिएफले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।