काठमाडौं, १० माघ । मछिन्द्र क्लब पोखरामा जारी २० औं संस्करणको आहा–रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

मछिन्द्रले सोमबार पोखरा रंगशालामा साविक विजेता संकटा क्लबमाथि ४–१ को सहज जित हात पारेको हो ।

खेलको १२औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा मेसुके ओलोमोउले टोलीको अग्रता दोब्बर बनाए ।

६३औं मिनेटमा संकटाका गणेश हमालले खेललाई २–१ को अवस्थामा ल्याए । ८४औं मिनेटमा अविशेक गुरुङले गोल गर्दा मछिन्द्र ३–१ ले अघि बढ्यो ।

८६औं मिनेटमा ओलोमोउले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ को सहज जित दिलाए ।

मछिन्द्रले सेमिफाइनलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग खेल्नेछ ।

एपिएफ पहिलो क्वाटरफाइनलमा अमेरिकी क्लब बिवाइएससी मिनेसोटालाई ३–१ गोल अन्तरले हराउँदै सेमिफाइनल पुगेको थियो ।