काठमाडौं, १० माघ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि–२० क्रिकेट प्रतियोगितापछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले ग्लोबल छनोटलाई लक्ष्यमा राखेर प्रशिक्षणमा फर्किएको छ ।

आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको हो ।

ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई प्रशिक्षक पुबुद दसानायकेले बन्द प्रशिक्षणमा सामेल गराएका हुन् ।

तर, ग्लोबल छनोटका लागि घोषणा भएका केही खेलाडीमा कोरोना देखिएकोले प्रशिक्षणमा समावेश छैनन् । छनोट खेलका बिगबासमा रहेको कप्तान सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् ।

ग्लोबल छनोट खेल्नु अघि नेपालले ओमानमा चार देशीय टि–२० शृंखला खेल्नेछ । शृंखलामा नेपालसहित आयोजक ओमान, टेस्ट राष्ट्र आयरल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन् । शृंखला नेपालको ग्लोबल छनोटको अभ्यास खेलको रूपमा हेरिएको छ ।

शृंखला अन्तर्गत पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्दै छ । यस्तै दोस्रो खेल युएईसँग फेब्रुअरी १२ र तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्दै छ । त्यसपछि फेब्रुअरी १८ मा ओमानसँग खेल्दै ग्लोबल छनोटको सुरुवात गर्नेछ । फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानाडासँग खेल्नेछ ।

समूह ‘ए’ अन्तर्गत विभाजन भएको समूह २ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमन रहेका छन् । यस्तै समूह १ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

त्यसबाट फाइनल प्रवेश गर्ने दुबै टोली अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अस्ट्रेलियामा हुने आइसिसी पुरुष टि–२० विश्वकपको लागि छनोट हुनेछन् ।