काठमाडौं, १० माघ । आयोजक नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिससको टोली काठमाडौं आइपुगेको छ ।

पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको छ ।

हाल फिफा वरीयताको १७२ औं स्थानमा रहेको मोरिसस टिमले नेपालसँग सुखद नतिजाका लक्ष्य लिएर आएको बताएको छ ।

यद्यपि कोरोना र चोटका कारण मुख्य खेलाडीविना नै मोरिसस नेपाल आएको हो । पहिलो पटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मोरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसले बताए ।

नेपालसँग हुने खेल मोरिससले मार्चमा हुने अफ्रिकन कप अफ नेसन्सको छनोटको तयारीका रूपमा लिएको छ । घरेलु टोलीसँग खेल्न सहज नहुने भन्दै राम्रो फुटबल खेलेर स्वदेश फर्किने लक्ष्य रहेको प्रशिक्षकले बताए ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १५ र १८ गते हुँदैछ ।

नेपाल आइपुगेको टोलीको कोरोना परीक्षणपश्चात् मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी रहेको छ । कोभिड मापदण्ड अन्तर्गत मोरिसस टोली खेलभन्दा पाँच दिन अगाडि नै काठमाडौं आइपुगेको हो ।