एजेन्सी, ८ माघ । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को मेगा अक्सनका लागि कुल १ हजार २१४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडी छन् ।

नेपालबाट मात्रै १५ खेलाडीले नाम दर्ता गराएको भनिए पनि नाम भने खुलाइएको छैन । अक्सनमा ४१ एसोसिएट खेलाडीले नाम दर्ता गराएका छन् ।

अक्सनमा टेस्ट राष्ट्रतर्फ अस्ट्रेलियाबाट ५९, दक्षिण अफ्रिकाबाट ४८, वेस्ट इन्डिजबाट ४१, श्रीलंकाबाट ३६, इंग्ल्यान्डबाट ३०, न्युजिल्यान्डबाट २९, अफगानिस्तानबाट २०, बंगलादेशबाट ९, आयरल्यान्डबाट ३ र जिम्बावेबाट २ खेलाडीले नाम दर्ता गराएका छन् ।

एसोसिएटतर्फ नेपालपछि सबैभन्दा धेरै अमेरिकाका १४ खेलाडीले नाम दर्ता गराएका छन् । नामिवियाका ५, ओमानका ३ तथा भुटान, नेदरल्यान्डस् , स्कटल्याण्ड र युएईका १÷१ खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन् ।

दर्ता गराएको नामबाट आइपीएलले सर्ट लिस्ट तयार पार्ने छ । सर्ट लिस्टमा पर्ने खेलाडी अक्सनमा जानेछन् ।

आइपीएल मेगा अक्सन फेब्रुअरी १२ र १३ मा हुने भनिए पनि औपचारिक रूपमा घोषणा भएको छैन । यो सिजनदेखि आइपीएलमा १० टोलीको सहभागिता रहने छ ।