एजेन्सी, ८ माघ । कतारमा आयोजना हुन लागेको फिफा विश्वकपको टिकट बिक्री खुल्ला गरेको २४ घण्टाभित्रै १२ लाख टिकट माग भएको छ । टिकट बिक्रीको प्रारम्भिक अवधिको पहिलो २४ घण्टामै सो संख्यामा टिकट माग भएको हो ।

३२ राष्ट्रको सहभागिता हुने उक्त खेलमा करिब १२ लाख खेल प्रेमी भित्र्याउने कतारको लक्ष्य छ । टिकटका लागि माग गरिएको संख्या घरेलु वा अन्तर्राष्ट्रिय बजारका लागि उपलब्ध टिकट सूचीभन्दा बढी हो ।

जनवरी २० तारिखदेखि कतार विश्वकप–२०२२ को टिकट बिक्री सुरु भएसँगै उच्च माग आएको फिफाले जनाएको छ । विश्वकपका लागि सबैभन्दा धेरै टिकट माग गर्ने कतारका फुटबल प्रेमी रहेका छन् । त्यसपछि क्रमशः अर्जेन्टिना, मेक्सिको, अमेरिका, संयुक्त अरब इमिरेट्स, इङ्ल्यान्ड, भारत, साउदी अरेबिया, ब्राजिल र फ्रान्स रहेका फुटबल प्रेमी टिकट माग गरेका छन् ।

१८ डिसेम्बरमा लुसेल रंगशालामा हुने फाइनलका लागि १ लाख ४० हजारभन्दा बढी टिकट र उद्घाटन खेलका लागि ८० हजारभन्दा बढी टिकट माग गरिएको फिफाले जनाएको छ ।

‘२१ नोभेम्बरदेखि सुरु हुने विश्वकपका लागि सबै फुटबल प्रेमीको चासोलाई ध्यानमा राख्दै (फिफा डटकम टिकट) एक मात्र आधिकारिक र वैध वेबसाइट हो, जसमा कतार विश्वकप–२०२२ टिकटका लागि आवेदन दिन सकिन्छ,’ फिफाले भनेको छ ।

न्यूनतम ४० देखि अधिकतम् ७५० कतारी रियल टिकटको मूल्य तोकेको छ । फिफाले आवेदन अवधि समाप्त भएपछि सबै टिकट बाँडफाँड गरिने जनाएको छ ।

टिकट अनियमित चयन ड्र प्रक्रियाद्वारा बाँडफाँड गरिनेछ । प्रारम्भिक चरणमा, पहिलो दिन, अन्तिम दिन वा बीचमा कुनै पनि समयमा टिकट माग गर्दा कुनै फरक नपार्ने फिफाले जनाएको छ ।