एजेन्सी, ७ माघ । आइसिसी पुरुष टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

आइसिसीले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो चरण अन्तर्गत उद्घाटन खेलमा श्रीलंका र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।यो खेल अक्टोबर १६ मा अस्ट्रेलियाको गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ ।

पहिलो चरणको समूह ‘ए’ मा नामिबिया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहने छन् । समूह ‘बी’ मा स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम हुनेछन् ।

ओमान र जिम्बावेमा हुने ग्लोबल छनोटबाट चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । प्रतियोगिताको सुपर १२ का खेलहरू भने अक्टोबर २२ बाट सुरु हुनेछन् । पहिलो खेलमा आयोजक अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्नेछ ।

सुपर १२ अन्तर्गतको समूह एकमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डसहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् ।समूह दुईमा बंगलादेश, भारत, पाकिस्तान र दक्षिण अफ्रिकासहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् ।

समूह दुई अन्तर्गतको पहिलो खेल भारत र पाकिस्तानबीच २३ अक्टोबरमा हुनेछ । प्रतियोगिता अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ ।