धनुषासहित देशभरका १४ जिल्ला ‘रेड जोन’ मा

काठमाडौं, ७ माघ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६५ हजार नाघेको छ । हालसम्म देशभर ६५ हजार ३७४ जना सक्रिय संक्रमित छन् । देशभरका ७७ वटा जिल्लामै संक्रमण फैलिसकेको छ ।
तीमध्ये १४ जिल्ला ‘रेड जोन’ मा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १४ वटा जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मन्त्रालयले ५०० भन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राख्ने गरेको छ ।
५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, बाँके, कास्की, रुपन्देही र कैलाली रहेका छन् ।
त्यस्तै दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् ।
हालसम्म नेपालमा १० लाख ६ हजार ५९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ लाख १९ हजार ५७५ जना निको भइसकेका छन् । काठमाडौं उपत्यकामा मात्र ४२ हजार ८३९ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौं जिल्लामा मात्र ३१ हजार २७७ जना छन् भने भक्तपुरमा ४ हजार २३६ र ललितपुरमा ७ हजार १७९ जना सक्रिय संक्रमित छन् ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ६३५ जनाको मृत्यु भएको छ ।
मधेश प्रदेशमा पनि विगत केहि दिनदेखि कोरोना संक्रमनको दर बढ्दै गईरहेको छ । यहाँ दिनहुँ सयौँको संख्यामा संक्रमित थपिंदै गएका छन् ।
मधेस प्रदेशमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ३९ हजार ९०४ रहेको छ । जसमध्ये ३७ हजार ६५१ जना संक्रमणमुक्त भईसकेका छन् ।
शुक्रबारसम्म यस प्रदेशमा सक्रिय संक्रमित १ हजार २११ जना रहेका छन् भने हालसम्म १ हजार ४२ जना संक्रमितको मृत्यु भईसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


