जनकपुरधाम, ७ माघ । मधेश प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १४ जना सम्भावित संक्रमित देखिएका छन् ।

गत एक महिनाको अवधिमा १ हजार २ सय जनाको परीक्षण गर्दा ३ सय जना कोरोना पोजेटिभ भेटिएको र त्यसमध्ये १४ जना ओमिक्रोनका सम्भावित संक्रमित रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

पहिलो चरणमा ९ र दोस्रो चरणमा ५ जना गरी कुल १४ जनामा ओमिक्रोनको सम्भावना देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट मनमोहन मिश्रले जानकारी दिए ।

उनीहरुको एचडिसिएफ जाँच गर्दा ओमिक्रोनको सम्भावना देखिएकोले पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको मिश्रले बताए ।

मधेश प्रदेशमा पनि विगत केहि दिनदेखि कोरोना संक्रमनको दर बढ्दै गईरहेको छ । यहाँ दिनहुँ सयौँको संख्यामा संक्रमित थपिंदै गएका छन् ।

मधेस प्रदेशमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ३९ हजार ९०४ रहेको छ । जसमध्ये ३७ हजार ६५१ जना संक्रमणमुक्त भईसकेका छन् ।

शुक्रबारसम्म यस प्रदेशमा सक्रिय संक्रमित १ हजार २११ जना रहेका छन् भने हालसम्म १ हजार ४२ जना संक्रमितको मृत्यु भईसकेको छ ।