जनकपुरधाम, ६ माघ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले किसान आन्दोलनमाथि दमन गर्ने अभिप्रायले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको हिंसात्मक अभिव्यक्ति आएको दावी गरेका छन् ।

राउतले भने,‘किसानले आफ्नो नैसर्गिक अधिकारका लागि गरिरहेको आन्दोलनमाथि दमन गर्ने अभिप्रायले मन्त्री यादवको यस्तो अभिव्यक्ति आएको हो ।’

मन्त्री यादवले सत्ताको दम्भमा किसानमाथि दमन गर्न खोजेको राउतको भनाइ छ । ‘सत्ताको दम्भमा किसान आन्दोलनलाई दमन गर्ने नाममा नरसंहार मच्चाउन प्रपञ्च रचिंदै छ,’राउतले भने,‘किसानका माग पूरा नहुन्जेल यो आन्दोलन जारी रहन्छ ।’

जनमत पार्टीका कार्यकर्ताले किसानको हकहितका लागि एक महीनादेखि मधेश प्रदेशमा आन्दोलन गरिरहेका छन् । उनीहरू किसानलाई बीउबिजन उपलब्ध गराउनुपर्ने, मलखादको व्यवस्था गर्नुपर्ने, सिंचाइको व्यवस्था गर्नुपर्ने, किसानको उत्पादनको उचित मूल्य निर्धारण हुनुपर्ने उनीहरूको माग छ ।

रौतहटको गौरमा बुधबार बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताले गरिरहेको आन्दोलनको विरोध गर्दै गौर हत्याकाण्ड दोहो¥याउने अभिव्यक्ति दिएकी थिइन् ।

मन्त्री यादवले राउतलाई लक्षित गर्दै भनेकी थिइन्,‘डाक्टर साहेब (सिके राउत) लाई यतैबाट भन्छु, कोही एक विरामी मरिहाल्छन् र तपाईंलाई घेराबन्दी पारेर मारिदिन्छन् । त्यसैले सतर्क भइहाल्नुस् । यो कलेजोमा ताकत छ, यो धर्तीको भैंसी र गाईको दुध खाएका छ भने सिंहदरबार गएर घेर्नुस् । अमेरिकामा फास्टफुड खाएको होला, हरियो साग सब्जी खाएछौं होला । तर जसको नशामा दुधका खुन बनेको छ । ताकत छ । त्यसलाई कहिले केहि हुन सक्दैन । याद राख्नुहोला ।’