काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको राजीनामा माग गरेका छन् ।

पदीय मर्यादाविपरीत मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको हत्या गर्ने हिंसात्मक अभिव्यक्ति दिएपछि आङ्देम्बेले उनको राजीनामा मागेका हुन् ।

आङ्देम्बेले भने,‘पदीय मर्यादाविपरीत मन्त्री यादवले अभिव्यक्ति दिनुभयो । जुन विल्कुल गलत छ । हिंसात्मक अभिव्यक्ति मन्त्रीबाट आउनुलाई कुनै पनि ढंगबाट उचित मान्न सकिँदैन ।’

राजीनामा दिन मन्त्री यादव तयार नभए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने उनको माग छ ।

जनता समाजवादी पार्टीबाट मन्त्री भएकी यादवले बुधबार रौतहटको गौरमा जनमत पार्टीका कार्यकर्ताले कार्यक्रमस्थल जान अवरोध पुर्याएपछि अर्काे गौरकाण्डको चेतावनी दिएकी थिइन् ।

मन्त्री यादवले राउतलाई लक्षित गर्दै भनेकी थिइन्,‘डाक्टर साहेब (सिके राउत) लाई यतैबाट भन्छु, कोही एक विरामी मरिहाल्छन् र तपाईंलाई घेराबन्दी पारेर मारिदिन्छन् । त्यसैले सतर्क भइहाल्नुस् । यो कलेजोमा ताकत छ, यो धर्तीको भैंसी र गाईको दुध खाएका छ भने सिंहदरबार गएर घेर्नुस् । अमेरिकामा फास्टफुड खाएको होला, हरियो साग सब्जी खाएछौं होला । तर जसको नशामा दुधका खुन बनेको छ । ताकत छ । त्यसलाई कहिले केहि हुन सक्दैन । याद राख्नुहोला ।’