नेपाल एपिएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं, ५ माघ । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।
एपिएफले बुधबारको फाइनलमा अर्को विभागीय नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि उचालेको हो ।
१५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो ।
पुलिसका लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । ५४ बलको सामना गरेका उनले ३ चौका र २ छक्काको मद्दतमा ६५ रन बनाए ।
दिलिप नाथले २३, आरिफ शेखले १२ र अनिल शाहले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपिएफका लागि किशोर महतोले ३, तथा अभिनाश बोहरा, अमरसिंह रौटेला र दिपक बोहराले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
एपिएफका लागि अमरसिंह रौटेलाले सर्वाधिक २९, लोकेश बमले २७, सन्दीप जोराले २४ को योगदान दिए ।
पुलिसका लागि दिपेन्द्रसिंह ऐरीले र सागर ढकाल ३–३, गुल्सन झाले २ तथा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १–१ विकेट हात पारे ।
उपाधिसँगै एपिएफले पाँच लाख प्राप्त गर्दा उपविजेता पुलिसले ३ लाख पायो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


