भारतमा लडाकु पानीजहाजमा विष्फोट हुँदा ३ को मृत्यु, ११ जना घाइते

एजेन्सी, ५ माघ । भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
जहाजका चालक दलले स्थितिलाई तुरुन्तै सम्हालेर थप क्षति हुन नदिएको नौसेनाका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भारतीय नौसेनाको ज्यान जाने गरी भएको यो विष्फोटको घटनाको छानविन चलिरहेको छ ।
आईएनएस रणवीर युद्धपोतलाई भारतले सन् १९८६ को अक्टुबर २८ तारिखदेखि भारतीय नौसेनामा सामेल गरेको थियो । यो युद्धपोत अत्याधुनिक हतियार र सेन्सर जडित छ । यसबाट सतहबाट सतहमा र हावामा पनि मार हान्न मिल्ने मिसाइल जडान गरिएको छ ।
मिसाइल रोधी हतियार र पनडुब्बु रोधी रकेट लन्चर पनि जडान गरिएको छ ।
यसअघि सन् २०२१ को अक्टुबर २३ तारिखमा भारतीय नौसेनाको रणविजय युद्धपोतमा आगलागी हुँदा चार जना घाइते भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


