प्रधानमन्त्री कप : एपिएफले उपाधिका लागि पुलिससँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, ४ माघ । विभागीय टोली नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एपिएफले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै फाइनल यात्र तय गर्यो ।
एपिएफले उपाधिका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल माघ ५ गते (भोलि) हुनेछ । पुलिस बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनल प्रवेश गरेको हो ।
२३१ रनको विशाल लक्ष्य पछ्याएको आर्मीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १८३ रन मात्र बनाउन सक्यो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रनको योगदान दिए ।
भीम सार्कीले ३५, सुमित श्रेष्ठले २४ र हरि चौहानले २२ रन जोड्दा शाहब आलम २१ रनमा अविजित रहे ।
एपिएफका लागि कप्तान शरद भेषवाकरले ३, भुवन कार्की र अभिनाश बोहराले २–२ तथा किशोर महतो र दीपक बोहराले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३० रन बनाएको थियो ।
एपिएफका लागि आसिफ शेख, प्रदीप ऐरी र लोकेश बमले अर्धशतकीय पारी खेले । आसिफले ४३ बलमा १० चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८४ रनको योगदान दिए ।
लोकेश ६६ र प्रदीप ५७ रनका अविजित रहे । निकै आक्रमक पारी खेलेका लोकेशले मात्र १८ बलमा २ चैका र ९ छक्का प्रहार गरे ।उनले १४ बलमै अर्धशतक पूरा गरेका थिए ।
प्रदीपले ५३ बलमा ७ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि आसिफ र प्रदीपले १५० रनको उत्कृष्ट साझेदारी गर्दै एपिएफलाई राम्रो सुरुवात दिलाएका थिए ।
त्यस्तै, तेस्रो विकेका लागि लोकेश र प्रदीपले अविजित ६८ रनको साझेदारी गरेपछि एपिएफले विशाल योगफल तयार पार्यो । आर्मीका लागि जितेन्द्र मुखिया र सुमित श्रेष्ठले १–१ विकेट लिए ।
एपिएफ समूह बी को विजेता तथा आर्मी समूह ए को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


