‘ए’ डिभिजन लिग अन्तर्गत सोमबारको खेलमा न्युरोड टिम (एनआरटी) विजयी

काठमाडौं, ३ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबारको खेलमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ ।
एनआरटीले त्रिपुरेश्वस्थित दशरथ रंगशालमा जावलाखेल युथ क्लबलाई २–० ले पराजित गरेको हो ।
एनआरटीको जितमा दुवै गोल दर्शन गुरुङले गरे । खेलको ६९औं मिनेटमा स्टेफिन बिनोङको पासमा दर्शनले गरेको गोलमार्फत् एनआरटीले अग्रता लिएको थियो ।
७३औं मिनेटमा बिनोङकै पासमा दर्शनले बललाई पोस्टको दिशा दिँदै एनआरटीलाई सहज जित दिलाए ।
दुवै टोलीले खेलमा पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।
७१औं मिनेटमा एरिक विष्टको फ्रिकिकमा सरोज दाहालले गरेको हेडर बाहिरिँदा एनआरटीले आफ्नो अग्रता दोब्बर बनाउन सकेन ।
८५औं मिनेटमा मिडफिल्डर रुपबहादुर लामाको फ्रिकिक एनआरटीका गोलकिपर अजित प्रजापतिले रोक्दा जावलाखेलले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो।
यो जितसँगै ९ खेलमा १३ अंक जोडेर एनआरटी छैटौं स्थानमा उक्लिँदा समान खेलबाट ८ अंकका साथ जावलाखेल १० औं स्थानमा यथावत छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


