एजेन्सी, ३ माघ । अमेरिकामा अस्पताल भर्ना हुने कोभिड संक्रमित बालबालिकाको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को पछिल्लो तथ्याङ्क अनुसार अस्पताल भर्ना हुने कोरोना भाइरस संक्रमित बालबालिकाको संख्या हालसम्मकै उच्च पुगेको हो ।

हरेक दिन अस्पताल भर्ना हुने १७ वर्ष मुनिका कोभिड संक्रमित बालबालिकाको औसत संख्या ८९३ पुगेको सिन्ह्वा समाचार माध्यमले जनाएको छ ।

सीडीसीले २०२० को अगस्टदेखि अस्पताल भर्ना हुने बालबालिकाको संख्या हेर्दै आएको छ । अमेरिकामा २०२० को अगस्ट १ गतेदेखि २०२२ जनवरी १३ गतेसम्म अस्पताल भर्ना हुने कोभिड संक्रमित १७ वर्षमुनिका बालबालिकाको संख्या ९० हजारभन्दा बढी देखिन्छ ।

यसमध्ये कोभिड–१९ संक्रमणपछि अस्पताल भर्ना हुने बालबालिकाको संख्या धेरै छ भने बाँकी बालबालिकाहरू अस्पताल भर्ना भएपछि वा अस्पतालमा हुँदा कोभिडबाट संक्रमित भएको सीडीसीको तथ्याङ्कले देखाउँछ ।

यसबाहेक, अस्पताल भर्ना भएका कोभिड संक्रमित बालबालिकामध्ये कोभिड खोप लगाउन नमिल्ने अर्थात् नवजात शिशुदेखि चार वर्ष उमेरका बालबालिकाको संख्या अत्यधिक रहेको पनि समाचारमा उल्लेख छ ।

सीडीसीले आउँदा हप्तामा हस्पताल भर्ना हुने कोभिड संक्रमित बालबालिकाको संख्या बढ्न सक्ने समेत अनुमान गरेको छ ।

यसैबीच, सीडीसीले ५ वर्षमाथिका बालबालिकालाई खोप लगाउन समेत अपिल गरेको छ ।

सीडीसीका अनुसार कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित बालबालिका गम्भीर अवस्था पुग्ने संभावना अन्य भेरियन्टको तुलनामा कम रहेको छ ।

त्यस्तै, अस्पताल भर्ना हुने कोभिड संक्रमित वयस्कको संख्याभन्दा बालबालिकाको संख्या कम रहेको पनि सीडीसीको भनाइ छ ।